२९ फाल्गुन २०८२, शुक्रबार
विश्वका घुम्नलायक उत्कृष्ट दश शहरको सूचीमा नेपालको काठमाडौं पाँचौं स्थानमा रहेको छ ।
विश्व प्रसिद्ध लोन्ली प्लानेटले सार्वजनीक गरेको उत्कृष्ट दश शहरको सुचीमा सूचीको पहिलो स्थानमा डेनमार्क रहेको छ भने पाँचौंमा काठमाडौं रहेको हो । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ ।


घुम्नलायक उत्कृष्ट दश शहरको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभीसाड, चौथोमा अमेरिकाको मियामी, पाँचौमा नेपालको काठमाडौं, छैटौंमा मेक्सिकोको मेक्सिको शहर, सातौंमा सेनेगलको डाकार, आठौंमा अमेरिकाको सिएटल, नवौंमा क्रोएशियाको जदार र दशौंमा मोरक्कोको मेक्नेसलाई घुम्नलायक उत्कृष्ठ दश शहरमा समावेश गरेको छ ।
पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश शहरको सूचीमा काठमाडौंलाई समावेश गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएको छ ।
सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको र सो अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितका नीति तथा कार्यक्रम सार्वजनिक गरेको सन्दर्भमा लोन्ली प्लानेटको पछिल्लो विवरणले थप बल पुर्याएको छ ।
विसं २०७२ को ‘गोरखा भूकम्प’ले क्षति पुर्याएका पूरातात्विक महत्वका सम्पदाको पुनः निर्माणले गति लिएको र धेरै जसो पुनःनिर्माण पनि सम्पन्न भइसकेको भन्दै काठमाडौं घुम्नलायक शहरको रुपमा रहेको उक्त संस्थाको ठहर छ । मन्दिर, कला र संस्कृतिले भरिपूर्ण काठमाडौं उपत्यकामा पछिल्लो समय सूचना तथा प्रविधिको पनि सहज प्रयोग गर्न पाइने पनि विवरणमा उल्लेख छ ।
क्षति भएका पूरातात्विक महत्वका सम्पदाको पुनःनिर्माण, तथा नेपालीको पाहुनालाई स्वागत गर्ने शैलीका कारण पनि जो कोहीलाई आकर्षित गर्न सक्छ । यस्तै पूराना स्मारक तथा अन्य परम्परागत कला कौशल पनि पर्यटकका लागि अर्को आकर्षणको विषय बन्न सक्छ । ढुङ्गे धारा, हिटी, देवल तथा काठमाडौँ, पाटन र भक्तपुर दरबार स्वायर पर्यटकका लागि खुला सङ्ग्रहालय जस्तै लाग्न सक्छ ।