२९ फाल्गुन २०८२, शुक्रबार
प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ। सडक दुर्घटनामा परी घाइते उनको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहेका ओलीको १६ दिनमा काठमाडौँको मेडिसिटी अस्पतालमा गए राति १ बजे निधन भएको अस्पतालले पुष्टि गरेको थियो।


उनको पार्थीव शरीरलाई अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालय काठमाडाैंमा राखिएको र दिउँसो हेलिकोप्टरमार्फत दाङ ल्याउने कार्यक्रम रहेको नेकपा प्रदेश कार्यालय सचिव बलराम अधिकारीले जानकारी दिए।
प्रदेशसभा सदस्य ओलीको निधनमा प्रदेशसभाको १९ गते बस्ने बैठकमा शोक प्रस्ताव पारित गरिने सचिव पुनले जानकारी दिए। ओली पूर्व नेकपा एमालेबाट दाङको क्षेत्र नं ३ को ख बाट प्रदेशसभाका लागि सांसद बनेका थिए। दङ्गीशरण गाउँपालिका–६ लेटार निवासी ओलीका श्रीमती, दुई छोरा छन्। रासस