शुरु भयो ‘मिस नेपाल २०१९’ को अडिसन

होमल्याण्ड खबर

२०७५ फाल्गुन १३ गते, सोमबार १५:०० मा प्रकाशित

जेसिसको रजत जयन्ती समारोहको अवसरमा २५ औं ‘मिस नेपाल २०१९’ आयोजना गरिएको छ ।

राजधानीमा यसै साता आयोजना गरिएको एक पत्रकार सम्मलेन मार्फत् मिस नेपाल २०१९ को खोजी कार्य विधिवत् रुपमा प्रारम्भ भएको घोषणा गरिएको हो।

द हिडेन ट्रेजरको आयोजनामा संचालन हुने मिस नेपाल २०१९ मा सहभागिता हुनका लागि इच्छुक युवती १९ देखि २५ वर्ष उमेर समूहको हुनु पर्ने प्रावधान रहेको बताइएको छ ।

सहभागिता हुनका लागि नेपाली नागरिकता र पासपोर्ट भएको, कम्तीमा पाँच फिट चार इन्च उँचाई, कम्तीमा दश जोड दुई वा सो सरहको अध्ययन पूरा भएको अविवाहित युवतीले आवेदन दिन सक्ने बताइएको छ ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धाका लागि मिस नेपाल ओसिनिया, मिस हङकङ नेपाल, मिस पोखरा, मिस पूर्वाञ्चल, मिस पश्मिाञ्चल र मिस चितवन सीधै क्वाइफाइ गर्ने बताइएको छ । साथै यो प्रावधान पूरा भएका एनआरएन युवतीले पनि मिस नेपाल २०१९ मा सहभागिता जनाउन सक्नेछन् ।

जस अनुसार मिस नेपाल ओसिनिया २०१८ अनुष्का श्रेष्ठ, मिस हङकङ नेपाल २०१८ प्रिया गुरुङ, मिस पूर्वाञ्चल २०१८ पूजा श्रेष्ठ, मिस पोखरा २०१८ सारा बजिमयले मिस नेपाल २०१९ को फाइनल प्रतिस्पर्धाका लागि आफ्नो नाम सुरक्षित बनाइसकेका छन् ।

मिस नेपाल २०१९ का लागि मार्च १३ देखि १५ अर्थात् फाल्गुण २९ देखि चैत्र १ गते सम्ममा धनगढी, नेपालगञ्ज, बुटल र पोखरामा, मार्च १७ देखि १९ अर्थात् चैत्र ३ देखि ५ गते सम्ममा चितवन, वीरगञ्ज, धरान र विर्तामोडमा तथा मार्च २४ अर्थात् चैत्र १० गते काठमाडौंमा फाइनल अडिसन संचालन गरिने कुरा आयोजक संस्थाले जानकारी गराएको छ ।

अडिसनमा चयन भएका २० देखि २५ जना प्रतिस्पर्धी काठमाडौंमा सात हप्तासम्मको ग्रुमिङ र प्रशिक्षण पश्चात् आगामी मे ९ अर्थात् वर्ष २०१७६ को वैशाख २६ गते बिहिबारका दिन राजधानीमा भव्य रुपमा संचालन हुने ग्राण्ड फिनालेबाट नयाँ मिस नेपाल चयन गरिनेछ ।

यस पटक देखि मिस नेपाल प्रतिस्पर्धाबाट मिस नेपाल वल्र्ड, मिस नेपाल युनिभर्स, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल तथा मिस नेपाल सुप्रानेसनलका रुपमा विजेताहरुलाई ताज पहिर्याइनेछ र उनीहरुले क्रमशः आ आफ्नो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

मिस नेपाल २०१९ मा रचना गुरुङ शर्मा अफिसियल कोरियोग्राफर , राजभाई सुवाल अफिसियल फोटोग्राफर, मनिश राई, वुमेन्स प्लानेटका सुष्मा सिंह तथा नटराज द बुटिकका आशुतोष अग्रवाल अफिसियल डिजाइनरका रुपमा रहनेछन् ।

पत्रकार सम्मेलनमा मिस नेपाल वल्र्ड २०१८ श्रृङ्खला खतिवडा, मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, मिस नेपाल इन्टरनेसनल २०१८ रोनाली अमात्य तथा मिस नेपाल सुप्रानेसनल २०१८ महिमा सिंहको पनि उपस्थिति थियो ।