२९ फाल्गुन २०८२, शुक्रबार
ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति नेपाल निर्माण व्यवसायी महासंघले शोक व्यक्त गरेको छ ।
महासंघले प्रेस विज्ञप्ति जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाउनु परेको घटनाप्रति गहिरो शोक व्यक्त गरेको हो ।
महासंघले शोक व्यक्त गर्दै अधिकारीसहित सातै जनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । “उच्च विचारका धनी, निष्ठावान राजनीतिज्ञको अल्पयायुमै भएको दुःखद अवसानले देशको लागि अपुरणीय क्षति भएको जनाएको छ,” जारी विज्ञप्तिमा उल्लेख छ, “दुर्घटनामा दिवङ्गत हुनुभएका नेपालको पर्यटन उद्योगका एक धरोहर, यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरीङ शेर्पाको निधनप्रति पनि महासंघले गहिरो शोक प्रकट गरेको छ ।”


कुशल व्यवसायी शेर्पाको निधनले निजी क्षेत्रलाई अपूरणीय क्षति भएको भन्दै महासंघले दिवंगत आत्माको चीर शान्तिको कामना गरेको छ । शेर्पाको अभाव निजी क्षेत्रमा सधै महसुस गरिने महासंघद्धारा विज्ञप्तिमा उल्लेख छ । साथै राष्ट्रसेवक कर्मचारीहरुको निधनमा पनि महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।
दिवङ्गत सबैको आत्माको चीर शान्तिको कामना गर्दै महासंघले शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनि कामना गरेको छ ।