जापान रोजगारी अन्तिम चरणमा

होमल्याण्ड खबर

२०७५ फाल्गुन २१ गते, मंगलवार ०९:०० मा प्रकाशित

संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्र श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम गर्न दुवै मुलुक सहमत भइसकेका छन् । मन्त्रालयका अनुसार कामदार पठाउने प्रक्रिया अप्रिलदेखि सुरु हुनेछ । त्यसअघि भाषा परीक्षा सञ्चालन गर्ने तयारी छ । ‘अप्रिलदेखि नै कामदार भर्ना छनोट सुरु हुनेछ ।’ मन्त्रालय स्रोतले भन्यो,‘त्यसअघि भाषा परीक्षा हुन्छ ।

नेपाली कामदार लैजान जापानी र नेपाली प्राविधिक टोलीबीच निरन्तरको छलफलपछि श्रम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको हो। जापानसँग यसअघि प्रशिक्षार्थी कामदार लैजाने सम्झौता भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। जापान नेपालीका लागि आकर्षक गन्तव्य मुलुक मानिन्छ। जापानमा कामदारले न्यूनतम दुई लाख रुपैयाँभन्दा बढी पारि श्रमिक पाउँछन्। जापानले आफ्ना नागरिकसरह विदेशीलाई सेवासुविधा दिँदै आएको छ।