२९ फाल्गुन २०८२, शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार अमेरिकाको न्यूयोर्कको भ्रमणमा जाँदैछिन् ।
राष्ट्रपति भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सिएसडब्ल्यु) को ६३औं बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ जान लागेकी हुन् ।


राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी फागुन २७ गते साँझ अध्यक्ष ग्रेसेसले नारी राष्ट्राध्यक्ष÷सरकार प्रमुखको स्वागत एवम् सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछिन् ।
उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्रसंघको सचिवालयमा महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति भण्डारीले इष्टोनियाका राष्ट्रपति केर्स्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग द्विपक्षीय वार्ता गर्नेछिन् । सोही दिन राष्ट्रपति भण्डारीसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। भण्डारीले फागुन २९ गते संयुक्त राष्ट्रसंघीयका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्नेछिन् ।
राष्ट्रपति भण्डारी फागुन ३० गते न्यूयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरेर चैत १ गते अपराह्न राजधानी आइपुग्ने कार्यक्रम रहेको छ ।