काठमाडौंलाई सुर्ती र चुरोटमुक्त बनाउँदै काठमाडौं महानगरपालिका

होमल्याण्ड खबर

२०७५ फाल्गुन २६ गते, आईतवार ११:१२ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले डेढ बर्ष्भित्र महानगर क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियान सुरु गरेको छ । सार्वजनिक स्थानमा त्यस्ता पदार्थको पूर्ण प्रतिबन्ध लगाउने र विक्रीबितरण समेत संकुचित पार्न कामपाते त्यस्तो अभियान सुरु गरेको हो । त्यसका लागि महानगरले चरणबद्ध रुपमा गर्ने कार्यक्रम तयार पारेको उपमेयर हरिप्रभा खड्गीले जानकारी दिइन् । स्वस्थ शहर कार्यक्रम अन्तर्गत यस्तो योजना ल्याइएको उपमेयर खड्गीको भनाई थियो ।

यो कार्यक्रम सुरुवात गरेसँगै स्वस्थ सहर अभियान सुरु गर्ने विश्वका ५० शहरमध्ये काठमाडौं पनि एक बनेको छ । शहरमा धूम्रपान तथा सुर्तीजन्य वस्तुको बढ्दो प्रयोग घटाएर स्वस्थ एवं स्वच्छ शहर निर्माण गर्ने उद्देश्यले कार्यक्रम थालनी गर्न लागिएको कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठले) बताइन् ।

सार्वजनिक स्थान सरकारी कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालीम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना कार्यस्थल, चलचित्रघर, नाटकघर, होटल, मोटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, छात्राबास, रङ्गशाला, कर्भडहल, पौडीपोखरी, डिपार्टमेन्टल स्टोर, धर्मशाला तथा टिकट काउन्टर जस्ता सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाइने र त्यसो गरेको पाइए तत्काल कारबाही हुने महानगरपालिकाले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नसर्ने रोगका प्रमुख पाँच कारणमध्ये धूम्रपान, मदिरापान, अस्वस्थकर आहार, निष्क्रिय जीवनलगायत छन् । स्वस्थ जीवनको चुनौती सामना गर्न सबै एक हुनुपर्नेछ । अब कामपाले वडाका जनप्रतिनिधिसँगको समन्वयमा टोल र विद्यालयस्तरीय कार्यक्रम पनि चलाउने भएको छ ।