९ मंसिर २०८१, आईतवार
न्युजिल्याण्डका दुईवटा मस्जिदमा गोली चल्दा मर्नेहरूको संख्या ४० पुगेको छ ।
चारजना बन्दूकधारीले दुई मस्जिदमा प्रवेश गरेर न्युजील्यान्डकै इतिहासको सबभन्दा खराब आतंकवादी घटना गराएका हुन् । उनीहरु चारै जना पक्राउ परेका छन् ।
प्रधानमन्त्री जासिन्डा आर्डर्नले लिनवूड मस्जिदमा १० जना मारिएको अनि डीन्स एभेन्यु मस्जिदमा ३० जना मारिएको बताएकी छन् । थप २० जना घाइते भएका छन् । यो अभूतपूर्व घटना भएको बताउँदै आर्डर्नले यसलाई आतंकवादी आक्रमणको संज्ञा दिइन् ।
आक्रमणको योजना लामो समयदेखि बुनिएको स्पष्ट भएको प्रधानमन्त्री आर्डर्नले बताइन् । तीन जनालाई आक्रमणकै सिलसिलामा पक्राउ गरिएको थियो भने अर्का एकलाई छुट्टै पक्राउ गरिएको थियो ।
आरोपितहरूको गाडीमा दुईवटा बम जडान गरिएको थियो तर त्यसलाई पछि निष्क्रिय पारिएको थियो । आर्डर्नले आरोपितहरूका बारेमा थप विवरण दिन नसक्ने बताइन् ।
हिरासतमा रहेका चार व्यक्तिमध्ये तीन पुरुष हुन् भने एक महिला रहेको बताइएको छ ।