निर्मला हत्या प्रकरणः फरार डिएसपी अंगुर जिसी अदालतमा उपस्थित

होमल्याण्ड खबर

२०७५ चैत्र ११ गते, सोमबार १३:०७ मा प्रकाशित

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा निलम्बित डीएसपी अंगुर जिसी अदालत उपस्थित भएका छन् । जिसी सोमबार बिहान कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
सिआईबीका निलम्बित डिएपसी जिसीमाथि निर्मला बलात्कार हत्या प्रकरणमा प्रमाण नष्ट गरेको, अभियुक्त भनी पक्राउ गरिएका दिलिपसिंह विष्टलाई यातना दिएकोलगायतका आरोप लागेको छ । जिसीमाथि बयान लिन सुरु गरिएको अदालतका रजिस्टार हरिकृष्ण अवस्थीले जानकारी दिएका छन् ।
अदालतले यस प्रकरणमा आरोपित तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीलाई ३५ दिने म्याद जारी गरी अदालतमा उपस्थित हुन सूचित गरेको थियो । आरोपित ६ प्रहरी तत्कालै अदलतमा उपस्थित भएका थिए भने विष्ट गत मंगलबार अदालतमा उपिस्थत भएका थिए ।