१२ जना नेपाली किशोरीको नयाँदिल्लीबाट उद्धार

होमल्याण्ड खबर

२०७५ चैत्र १९ गते, मंगलवार १४:५५ मा प्रकाशित

दिल्ली महिला आयोगले भारतको राजधानी शहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीहरुको उद्धार गरेको जनाएको छ।

उद्धार गरिएका किशोरीहरुले एक जना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन्।

आयोगका सदस्य किरण नेगीको अगुवाईमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीहरुको उद्धार गरिएको आयोगले जनाएको छ। तर किशोरीहरुलाई दिल्लीसम्म ल्याउने एजेन्ट फरार भएका छन्।

उद्धार गरिएका अधिकांश किशोरीहरुले रोजगारी दिलाउने नाममा ती एजेन्टलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ बुझाएको बताएका छन्। तर दुई जनाले भने एजेन्टलाई दुई लाख रुपैयाँ दिएको दाबी गरेका छन्।

उद्धार गरिएका सबै किशोरीलाई नेपाल पठाइने आयोगले जनाएको छ।रासस