भारतमा आजदेखि लोकसभा निर्वाचनका लागि मतदान

होमल्याण्ड खबर

२०७५ चैत्र २८ गते, बिहीबार ०८:०२ मा प्रकाशित

भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ ।

१८ राज्य र केन्द्र शासित २ प्रदेशका ९१ सिटका लागि मतदाताले आफ्ना प्रतिनिधि छान्दै छन् । मतदान बिहान ७ बजे शुरु हुँदै छ।

प्रमुख निर्वाचन आयुक्तले सबै मतदातालाई अत्यधिक रूपमा मतदान गर्न आह्वान गरेका छन् । केन्द्रमा सरकार बनाउन ७ चरणमा निर्वाचन हुँदै छ ।

संसद्को तल्लो सदन लोकसभाका लागि सात चरणमा हुने मतदान मे १९ तारिखसम्म हुनेछ । तर मतगणना भने मे २३ तारिखमा सुरु हुनेछ ।

पहिले चरणमा आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, अण्डमान निकोबार द्वीप समूह र तेलंगानाका सबै लोकसभा सिटका लागि मतदान गरिने व्यवस्था मिलाइएको छ ।

साथै असम, बिहार, छत्तीसगढ, जम्मुकश्मीर, महाराष्ट्र, मणिपुर, उडिशा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालमा लोकसभाका केही सिटका लागि मतदान हुँदै छ ।

निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन ।

यस्तो छ चुनाव तालिका 
पहिलो चरण :  ११ अप्रिल : ९१ सिट

दोस्रो चरण : १८ अप्रिल : ९७ सिट

तेस्रो चरण : २३ अप्रिल : ११५ सिट

चौथो चरण : २८ अप्रिल : ७१ सिट

पाँचौं चरण : ६ मे : ५१ सिट

छैटौं चरण : १२ मे : ५९ सिट सातौं चरण : १९ मे : ५९ सिट