पत्रकार महासंघ आन्दोलितः धर्ना बस्नेदेखि विरोधपत्र बुझाउनेसम्मका कार्यक्रम तय

होमल्याण्ड खबर

२०७६ बैशाख ४ गते, बुधबार १४:०१ मा प्रकाशित

नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने भएको छ ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै आन्दोलन गर्ने भएको हो ।

पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दफा अन्तर्गत पटकपटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रतामा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि आन्दोलन गर्न बाध्य भएको महासंघले जनाएको छ ।

विरोध कार्यक्रम अन्र्तगत बैशाख ५ गते विद्युतीय कारोबार ऐनको दर्फा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको माग गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्ने, बैशाख ५ गते विहान ९:३० देखि १०:३० बजेसम्म नेपाल पत्रकार महासंघका जिल्ला शाखामार्फत देशका सबै जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम रहेका छन्।

त्यसपछिका थप कार्यक्रम भने बिहीबार बस्ने महासंघको उपलब्ध केन्द्रीय समिति बैठकले तय गर्ने बताइएको छ ।