९ मंसिर २०८१, आईतवार
नेपालमा रहेको पेट्रोलियम खानी अध्ययन गर्न चिनियाँ टोली आउने भएका छन् । नेपालका केही जिल्लामा पेट्रोलियम खानी रहेको हुनसक्ने भएकाले त्यस बारे विस्तृत अध्ययन गर्न चिनी टोली नेपाल आउने भएको हो ।
खानी तथा भूगर्भ विभागका अनुसार पाल्पा, दैलेख, सुर्खेत, उदयपुर, नेपालगन्जलगायतका क्षेत्रमा सो टोलीले अध्ययन गर्ने छ । टोलीले पेट्रोलियम खानीको विस्तृत अन्वेषण, अध्ययन तथा ड्रिलिङको कामसमेत गर्ने बताइएको छ ।
टोलीले इन्धन भण्डार पत्ता लगाउन विभिन्न क्षेत्रमा ड्रिलिङ गर्ने र भण्डार के कति मात्रामा छ भन्ने पत्ता लगाउने छन् । पत्ता लागेका खानीमा विशेष अध्ययन गरेपछि मात्रै पेट्रोलियम पदार्थको मात्रा र आर्थिक रूपमा सम्भाव्य भए नभएको पत्ता लगाउने बताइएको छ ।
२०७२ सालमा भएको नाकाबन्दीका कारण इन्धनको आयात नहुँदा हाहाकार भएपछि सोही साल चैतमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषणसम्बन्धी द्विपक्षीय सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । सोही समझदारीसँगै पेट्रोलियम खानीको उत्खनन् गर्ने विषय अगाडि बढेको थियो ।