श्रीलङ्का आक्रमणः मृतकको सङ्ख्या २९० पुग्यो, कर्फ्यु हट्यो

होमल्याण्ड खबर

२०७६ बैशाख ९ गते, सोमबार १०:३८ मा प्रकाशित

एजेन्सीः श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ। आइतबारको उक्त आक्रमणमा परि ५०० जना घाइते भएको र दर्जनौं विदेशीहरू मारिएको बताइएको छ। श्रीलङ्का सरकारले लगाएको कर्फ्यु भने सोमबार बिहान ६ बजेबाट हटाइएको छ।

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सो आक्रमणका बारेमा प्राप्त पूर्व सूचनाका आधारमा सुरक्षा निकायले कारबाही अगाडि नबढाएको विषयमा छानबिन हुनुपर्ने बताएका छन्।

टेलिभिजन सम्बोधनमा उनले उक्त आक्रमणका बारेमा प्राप्त सूचनाबारे आफूलगायत अन्य मन्त्रीहरूलाई समेत जानकारी नदिइएको बताएका थिए। तर उनले अबको प्राथमिकता दोषीलाई कारबाही गर्ने रहेको उल्लेख गरेका छन्।

हरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन। घटना पछि श्रीलङ्कामा मिथ्या सूचनाहरू फैलिएको भन्दै सामाजिक सञ्जालको प्रयोगमासमेत रोक लगाइएको छ।

यस अधि श्रीलङ्काका एक जना मन्त्री हरिन फर्नानडोले नाम नखुलाइकन एउटा समूहले १० दिन अगाडि आक्रमण गर्न सक्ने सूचना दिएपनि सम्भावित घटना बारे राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सरकारलाई जानकारी दिन नसकेको बताएका थिए।