३० फाल्गुन २०८२, शनिबार
नेपाल पत्रकार महासंघले सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरिएका पत्रकार जितेन्द्र महर्जनलाई तत्काल रिहा गर्न माग गरेको छ । सर्वोच्च अदालतले आइतबार महर्जनलाई गैरकानूनी थुनामा राखेको ठहर गर्दै रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले फेरि पक्राउ गरेको थियो ।
समाचार लेखेकै कारण पत्रकारहरुमाथि विधुतीय कारोवार ऐन, राज्य विरुद्धको अपराध जस्ता गम्भीर अभियोग लगाउँदै गैरकानूनी गिरफ्तारी गर्ने कामको विरोधमा पत्रकार महासंघले आन्दोलन गरिरहेका बेला सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएका पत्रकारलाई अदालत परिसरबाटै पक्राउ गर्ने कामले लोकतन्त्र, मानवअधिकार, विधिको शासन र स्वतन्त्र पत्रकारिताकै खिल्ली उडाएको महासंघका महासचिव रमेश विष्टले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


घटना संविधान तथा प्रेस स्वतन्त्रता विरोधी भएकाले तत्काल महर्जनलाई रिहा गरि यो काममा संलग्न सबैलाई कारबाही गर्न माग गरेको छ । पक्राउ परेका पत्रकार महर्जनको रिहाई र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि महासंघ आन्दोलनका कार्यक्रम तय गर्न केन्द्रीय समितिको आकस्मिक बैठक मंगलबार बोलाइएको महासंघले जनाएको छ ।