३० फाल्गुन २०८२, शनिबार
विद्युतीय धरापमा परेर एक जनाको मृत्यु भएको छ ।
बदेल मार्नका लागि बनाइएको विद्युतीय धरापमा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकटोलका मिन बहादुर गौतम क्षेत्रीको मृत्यु भएको हो ।


देवदह नगरपालिका–९ को जंगलमा रहेको स्थानीय रोहणी खोलामा थापिएको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएपछि उनीसँगै रहेका साथीहरुले शव उक्त स्थानमा नै गाडेर छाडे ।
वैशाख १ गतेदेखि गौतम हराएको भन्दै प्रहरीमा उजजुरी पर्यो । खोजतलास गर्दा शव गाडिएको अवस्थामा फेला पर्यो।
अनुसन्धानका क्रममा गाउँको एक समूहले मिलेर थापेको विद्युतीय धरापमा परी गौतमको गत २ गते मृत्यु भएको भएको धराप थाप्ने समूहका अन्य सदस्यले घटना लुकाउन अन्यत्रै लगेर गाडेको खुल्दै गयो ।
प्रहरीले विद्युतीय धराप थाप्ने र शव जंगलमा गाड्ने पाँच जना अभियुक्तहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।
पक्राउ पर्नेहरुमा तिलोत्तमा नगरपालिका ११ भूपू सैनिकटोलका २६ वर्षका उपेन्द्र शाह, ३५ वर्षका नरबहादुर पुन, ३५ वर्षकै चन्द्रबहादुर थापा, २८ वर्षका कृष्ण राना र ४० वर्षका अमर पुन रहेको इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी डिलबहादुर मल्लले जानकारी दिए ।
उनीहरूले ३ फिट गहिरो खाडल खनेर गौतमको शवलाई गाडेका फेला परेको र घटना सुनियोजित नभए पनि युवाहरूले घटना लुकाउन खोजकोले उनीहरूलाई फौजदारी संहिता अनुसार कारवाही हुने उनको भनाई थियो ।