९ मंसिर २०८१, आईतवार
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।
सोमबार राति भएको खेलमा घरेलु टोली हैदरावादले पन्जाबलाई ४५ रनले पराजित गरेको हो ।
राजिब गान्धी क्रिकेट स्टेडियममा हैदरावादले दिएको २१३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १६७ रन मात्र बनायो ।
पन्जाबका लागि लोकेश राहुलले ७९, मायांक अग्रवालले २७, निकोलस पुरनले २१, सिम्रन सिंहले १६ र डेभिड मिल्लरले ११ रन बनाए ।
हैदरावादका खलील अहमेद र राशिद खानले ३ ३ विकेट लिए ।
सन्दीप शर्माले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन बनाएको थियो ।
हैदरावादका लागि डेभिड वार्नरले ८१, मनिस पाण्डेले ३६, रिद्दिमान शाहले २८ र मोहमद नाभीले २० रन बनाए ।
पन्जाबका मोहमद सामी र रविचन्द्र आश्विनले २ २ विकेट लिए । त्यस्तै मुरुगन आश्विन र अक्षयदिप सिंहले समान १ विकेट लिए ।
जितसँगै हैदरावाद १२ खेलबाट १२ अंक जोड्दै चौथो स्थानमा कायमै रहेको छ । पन्जाब १२ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा छ ।