नवलपुरका विद्यालय बन्द, हेलिकोप्टर नउडाउन आग्रह

होमल्याण्ड खबर

२०७६ बैशाख २० गते, शुक्रबार १२:३१ मा प्रकाशित

समुद्री आँधी फानीको प्रभावले हिमाली भेगमा प्रभाव पर्ने भएकाले सरकारले शुक्रबार र शनिबार पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको छ । भारतको ओडिसा क्षेत्रमा आँधीले हानी सकेको छ ।

हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको हो । 

नेपालको पूर्वीक्षेत्रका विद्यालयहरुसमेत आज बन्द गरिएका छन् ।

पदयात्रा र हिमाल आरोहणमा निस्किएलाई सुरक्षित स्थानमा बस्न पनि केन्द्रले आग्रह गरेको छ ।

 नवलपुरमा समेत स्कुल बन्द

भारतमा आउने भनिएको फानी तुफानको सम्भावित प्रभावलाई मध्यनजर गर्दै नवलपुरका समेत विद्यालयहरू बन्द गरिएको छ ।

बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित चक्रवात ‘फानी’को प्रभाव आजबाट नेपालमा समेत देखिने भएपछि सतर्क हुन आग्रह गरिएको छ ।