१० मंसिर २०८१, सोमबार
चावहिल–साँखु सडक खण्डअन्तरगत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ ।
धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच छिटो कालोपत्रे सम्पन्न गर्ने सहमति भएपछि अन्दोलन स्थगित भएको हो ।
निर्माण कम्पनी र स्थानीय ६ बुँदे सहमति समेत गरिएको छ । सहमतिपछि आइतवारदेखि नै कालोपत्र गर्ने काम ठेकेदार कम्पनीले शुरु गर्ने,कालोपत्र गर्नुपूर्व रोलर लगाउने, सबवेस बनाउने काम कार्य शुरु गर्ने जस्ता सहमति भएको बताइएको छ ।
बिहीवार भएको आन्दोलनमा प्रहरीले व्यापक बल प्रयोग गरेको थियो ।
प्रदर्शनमा उत्रिएका एक दर्जन आन्दोलनकारी घाइते भएका थिए भने प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।
अन्तिममा प्रहरी र स्थानीय जनप्रतिनिधिको विशेष भूमिकामा ठेकेदारलाई नै ल्याएर सहमति गर्ने वातावरण बनेपछि आन्दोलन स्थगित भएको थियो ।