१० मंसिर २०८१, सोमबार
त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण बुधबारदेखि शुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमाडौँको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विधुत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण अवधि लगातार तीन दिन (७२ घण्टा) चल्ने छ ।
परीक्षणका लागि केन्द्रीय प्रसारण लाइनको विधुत् प्रवाह गरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार ६० मेगावाट क्षमताको थ्री ‘ए’ जलविधुत् आयोजनाको निर्माण सम्पन्न भइसकेकाले उक्त आयोजनाको पहिलो युनिटमा लोड दिएर (विद्युत् उत्पादन) दुवै योजनाको संयुक्त परीक्षण गर्ने तयारी समेत छ ।
प्रसारण लाइन निर्माणको जिम्मेवारी पाएको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुइ) का प्राविधिक विस्तार भएको खम्बा र तारमा स्थलगत रुपमा खटिएर परीक्षण शुरु गरेका छन् । परीक्षण अवधिमा विधुतीय खम्बा, अर्थिङ्ग तार र विधुतीय प्रसारण तारलगायत प्रसारण लाइनसँग सम्बन्धित संरचनाको दायाँबायाँ १५–१५ मिटर आसपासमा नजान आयोजनाले सूचना निकालेर सर्वसाधारणलाई सचेत गराएको छ ।
प्रसारण लाइनको परीक्षणमा खटिएका प्राविधिक (चिनियाँ नागरिक)को मङ्गलबार यहाँको लिखु गाउँपालिका–३ सूर्यमतीमा मृत्यु भएको थियो । परीक्षण अवधिमा प्रसारण लाइन आसपासको क्षेत्र ‘विधुतीय सुरक्षाको दृष्टिकोणले जोखिम’ रहेको बताइएको छ । नुवाकोट र रसुवामा उत्पादित विधुत् केन्द्रीय प्रसारण लाइनमा जोड्न विसं २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणकार्य गत वैशाख १५ मा सम्पन्न भएको थियो ।
उक्त प्रसारण लाइनमा १४० खम्बा निर्माण गरिएको छ । यसैगरी प्रसारण लाइन निर्माणमा यस आयोजनाअन्तर्गत नेपालमा पहिलोपटक काठमाडौँको मातातीर्थदेखि केन्द्रीय प्रसारण लाइनको स्टेशनस्थलसम्म एक किमी दूरीमा विधुतीय तार विस्तारको कार्य भूमिगत (अन्डरग्राउण्ड) गरिएको छ ।
उक्त प्रसारण लाइनमार्फत् नुवाकोट र रसुवाका दुई जिल्लामा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’मध्ये त्रिशूली–गङ्गासहित तादी र त्रिशूली करिडोरका सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विधुत् केन्द्रीय प्रसारण लाइनमा जडान गरिने नेपाल विधुत् प्राधिकरणको योजना छ ।
उक्त प्रसारण लाइन निर्माणमा चीन सरकारको सहुलियत ऋण सहयोगमा नेपाल सरकार तथा नेपाल विधुत् प्राधिकरणको संयुक्त लगानी रहेको छ । आयोजना निर्माणमा रु दुई अर्ब ५० करोड लागेको प्रारम्भिक अनुमान छ ।