गलत रगत चढाएर निधन भएकी बालिकाका आफन्त न्याय माग्दै काठमाडौंमा

होमल्याण्ड खबर

२०७६ जेष्ठ १ गते, बुधबार १५:३७ मा प्रकाशित

सर्लाहीमा गलत रगत चढाएर निधन भएकी बालिकाका आफन्त न्याय माग्दै काठमाडौं सम्म आइपुगेका छन् ।

यही वैशाख २३ गते सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहको गलत रगत दिएका कारण मृत्यु भएको आरोप आफन्तले लगाएका छन् ।

बालिकाका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो माग गरेका हुन् । आफूहरु न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदापनि कतैबाट उचित न्याय नपाएको उनले गुनासो पोखे ।

उनले भने, ‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ ।’

शल्यक्रिया गर्नुपुर्व विरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाईएको पनि बुवाले सुनाए । उनले भने, ‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ। हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’

आफूहरुले स्वास्थ्य मन्त्रालयमा पुगेरपनि न्याय पाउँ भनि हारगुहारसमेत गरेको उनले सुनाए । उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोखे ।