नेपाल पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

होमल्याण्ड खबर

२०७६ जेष्ठ ५ गते, आईतवार १५:५५ मा प्रकाशित

नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

आइतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो ।

मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको महासंघले पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको महासंघले जनाएको छ ।

महासंघको जेठ ६ गतेदेखि सुरु हुने दोस्रो चरणको आन्दोलनको कार्यक्रम जेठ २५ गतेसम्म चल्नेछ ।

जसमा जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने महासंघको कार्यक्रम छ ।

त्यस्तै जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने, जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तक्र्रिया कार्यक्रम गर्ने महासंघले जनाएको छ ।

जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको वानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने, काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।