आज टुँडिखेल र नारायणहिटीमा विशेष कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै

होमल्याण्ड खबर

२०७६ जेष्ठ १५ गते, बुधबार ०७:०० मा प्रकाशित

आज नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदै छ । सरकारले काठमाडौंको टुँडिखेलमा औपचारिक समारोह आयोजना गरेको छ ।

टुँडिखेलमा बिहान ८ बजे आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुको सहभागीता रहने छ ।

यसैगरी बुधबार साँझ ६ बजे राष्ट्रपतिबाट गणतन्त्र स्मारक उदघाटन कार्यक्रम पनि छ । गणतन्त्र स्मारक नारायणहिटी दरबार परिसरमा निर्माण गरिएको छ ।

जनआन्दोलन ०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

२३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको हो ।