१० मंसिर २०८१, सोमबार
नेपाल–भारतबीचको रेल सेवा सम्झौता पुनरावलोकन हुने भएको छ । यसका लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिनिधिमण्डल जेठ २२ गते भारत प्रस्थान गर्नेछ ।
सहसचिव नवराज ढकाल नेतृत्वको ११ सदस्यीय टोली वार्ताका लागि भारत जान लागेको हो । यो पटकको वार्तामा जनकपुर–जयनगर रेल सेवा सुचारु गर्नेसहित विभिन्न स्थानमा बल्क कार्गो सेवा विस्तार गर्नेबारे पनि छलफल हुनेछ । जनकपुर–जयनगर रुटका लागि भारतसँग रेल किन्ने सम्झौता भइसकेको छ । यो रेलमार्गमा पनि कन्टेनराइज कार्गो सुविधा दिन भारतसँग आग्रह गरिने टोलीमा संलग्न एक सदस्यले जानकारी दिए ।
यस्तै वीरगञ्जबाहेकका अन्य प्रमुख नाकाहरुसम्म पनि ‘बल्क कार्गो’ सुविधा प्राप्त गर्ने विषयमा पनि वार्तामा छलफल हुने उनले बताए । यसअघि भारतसँग सन् २००४ मा रेल सेवा सम्झौता भएको थियो । यो सम्झौताअनुसार बल्क कार्गो कोलकाता बन्दरगाहबाट वीरगञ्ज नाकासम्म मात्र ल्याउन पाउने व्यवस्था छ । त्यसलाई अन्य प्रमुख नाकाहरुमा पनि विस्तार गर्ने गरी भारतसँग नेपालले पहल गर्दै आएको छ ।
बल्क कार्गोमा मल, चिनी, भटमास, नून, पिना, प्लाष्टिकका दाना, सिमेन्ट, कोइला, क्लिंकर, तरकारी, फलफूल लगायतका वस्तुहरु ठूलो परिमाणमा मात्रै ल्याउन पाइन्छ । अहिलेसम्म रेल सेवा सम्झौताअनुसार कोलकाताबाट वीरगन्ज नाकामा मात्र रेलमार्फत ढुवानी गर्न पाइने व्यवस्था छ ।
वीरगञ्जबाट मात्रै आयात गर्नुपर्ने बाध्यताले नेपाल आउने कच्चा पदार्थको लागत वर्षैपच्छे बढ्दै गएको छ । कच्चा पदार्थ आयातको लागत बढ्दा नेपाली उत्पादनलाई प्रतिस्पर्धामा उत्रिन अप्ठेरो परिरहेको छ । व्यवसायीले पनि लामो समयदेखि बल्क कार्गोको सुविधा अन्य नाकाहरुमा पनि समेत विस्तार गर्नुपर्ने माग गरिरहेका छन् ।
उद्योगी व्यवसायीहरूले सामुन्द्रिक बन्दरगाहबाट आउने कन्टेनर र बल्क कार्गो रेलबाट ल्याउने व्यवस्था मिलाउन मिलाउन आग्रह गर्दै आएका छन् । तेस्रो मुलुकबाट आउने सामान पनि रेलमार्गबाट सीमासम्म ल्याउन दिन नेपालले भारतसँग प्रस्ताव गरेको छ ।