भिभिआइपीको सवारीमा सुधारः राष्ट्रपति भण्डारीबाटै सुरुवात

होमल्याण्ड खबर

२०७६ जेष्ठ २७ गते, सोमबार १२:५७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी नेपालगञ्ज पुगेर फर्केकी छन् । भिभिआइपीको सवारीमा सधै समस्या देखिन्थ्यो तर यसपाली भने सडक जाम भएन । यस सम्बन्धमा सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउन थालेको भन्दै विरोध भएपछि राष्ट्रपतिको सवारीमा सुधार गर्न थालिएको छ ।सामान्य कार्यक्रम राष्ट्रपतिले आफ्नै कार्यालयमा उद्घाटन गर्न शुरु गरेकी छन् ।

राष्ट्रपति भण्डारी गत २१ जेठमा राष्ट्रपति भण्डारी नेपालगन्ज गएकी थिइन् । अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा नोटामसमेत जारी गरिएन । उनी नियमित उडानमार्फत गइन् र २३ गते फर्किइन् । यसबाट विमानस्थलमा कुनै असर नपरेको विमानस्थलले जनाएको छ ।

भिआइपीको औपचारिक भ्रमणका क्रममा विमानस्थलमा नोटाम जारी गरेर अन्य उडान रोक्ने गरिन्छ । जसले दिनभरको उडान तालिका अस्तव्यस्त हुने गरेका छन् । सुरक्षाका कारण नभई भिआइपीको सम्मानका लागि अन्य उडान रोकिने गर्दा सर्वसाधारणबाट आलोचना हुने गरेको थियो ।
यसमा पनि सुधारको प्रयास भइरहेको विमानस्थलले बताएको छ ।
गत साता राष्ट्रपति नेपालगञ्ज जाँदा र फर्कंदा विगतको तुलनामा ट्राफिक निकै कम प्रभावित भएको थियो ।