१ चैत्र २०८२, आईतवार
यातायात व्यवस्था विभागले असार एक गतेबाट काठमाडौं उपत्यकामा रात्रीकालीन बस सेवा सुरु गर्ने भएको छ । यात्रुको आवश्यकता र सेवा सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाभित्र रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा ल्याउन लागेको विभागले जनाएको छ । विभागले केहीवर्ष अघि पनि रात्रिकालीन सवारी सञ्चालनमा ल्याएको भए पनि केही समयमै बन्द भएको थियो ।
विभागले हाल उपत्यकामा सञ्चालनमा रहेका बसलाई नै रातको समयमा सञ्चालन गर्ने तयारी गरेको हो । काठमाडौंमा आठ बजेसम्म मात्र सार्वजनिक भाडाका सवारी साधनले सेवा दिँदै आएका छन् । उपत्यकामा सञ्चालित विभिन्न अस्पताल, सञ्चारमाध्यम, होटल, रेस्टुरेन्ट, ग्यारेज, सेक्युरिटी गार्ड, मल, फिल्म हल आदिमा रोजगारी गर्दै आएका सर्वसाधारणलाई यो सेवाबाट प्रत्यक्ष फाइदा पुग्ने विभागका महानिर्देशक कुमारप्रसाद दहालले बताए ।


यसका साथै अस्पताल जाने बिरामी, कुरुवा, वैदेशिक रोजगारीमा जाने कामदार र बाहिरी जिल्लाबाट आएका नाइट बसमा काठमाडौं आइपुगेका यात्रुलाई गन्तव्यसम्म पुग्नका लागि रात्रिकालीन यातायात सेवाले फाइदा पुग्ने विभागको विश्वास छ । विभागले हालै गरेको निर्णयले असार १ गतेबाट उपत्यकामा बिहान आठ बजेदेखि बेलुका सात बजेसम्म सबै प्रकारका मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । दिउँसो चल्न नपाउने त्यस्ता मालबाहक सवारी साधन पनि सार्वजनिक भाडाका सवारी साधनसँग रातको समयमा चल्नेछन् ।
“अहिलेको समयमा आठ बजेपछि सार्वजनिक यात्रुबाहक सवारी पाउन मुस्किल छ । नाइट बस सञ्चालन गरेपछि आवश्यकताअनुसार सबै यात्रुलाई फाइदा पुग्छ साथै दिउँसो हुने ट्राफिक जाम केही कम हुने हाम्रो विश्वास छ,” महानिर्देशक दहालले भने ।
रात्रिकालीन समयमा सञ्चालन बसमा दिउँसोको भन्दा बढी भाडा पर्ने विभागले बताएको छ । “नाइट बसको भाडा दिउँसोको भाडा भन्दा आवश्यकताअनुसार बढाइने छ,” महानिर्देशक दहालले भने । रात्रिकालीन सार्वजनिक सवारीमा हुनसक्ने चोरी, लुटपाटजस्ता घटनाको निगरानीका लागि विभाग र सुरक्षा निकायबीच छलफल भइसकेको छ ।
सवारी साधनले ट्राफिक नियम पालना गरे, नगरेको हेर्न तीनवटै जिल्लाका प्रमुख स्थानका मुख्य–मुख्य चोकमा ट्राफिक प्रहरी खटाउन विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भनेको छ ।
“नौ बजेसम्म सार्वजनिक सवारी सञ्चालन हुने कुरा आएको छ । रातभरि नै सवारी साधन सञ्चालन हुँदा त्यसको व्यवस्थापनका लागि ट्राफिक प्रहरी कसरी खटाउने यो छलफलको विषय नै छ,” महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले भने, “एउटा, दुईटा बस चलाउने हो भने सिभिलमा रहेका प्रहरीले पनि व्यवस्थित गर्न सकिन्छ तर राति कति संख्यामा सवारी सञ्चालन गरिने हो यसअनुसार जनशक्ति तयार पारिने छ । विभागले थप छलफल गरेर हामीलाई निर्देशन दिनेछ ।”
“यात्रुको चाप हेरेर बिहान कति बजेसम्म बस चलाउने हो हेरिन्छ,” महानिर्देशक दहालले भने ।