१० मंसिर २०८१, सोमबार
संसदीय समितिले काठमाडौंको तीनकुनेस्थित बाग्मती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भीर त्रुटिहरु भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहीन काम गरेको पाइएकाले पप्पुलाई कारबाही गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले बताइन् । समितिले केहीअघि एक टोली गठन गरेर निर्माणाधीन उक्त पुलको स्थलगत निरीक्षण गर्दा गुणस्तरहीन काम गरेको पाइएको टोलीका प्रतिनिधिहरुको निष्कर्ष छ ।
स्थलगत निरीक्षणका क्रममा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै सो पुलको निर्माण कार्य अघि बढाउनु भनेकोमा सो कम्पनीले त्यस विपरित काम अघि बढाएकाले कारबाही गर्न सिफारिस गरेको हो ।
बैठकमा समितिका सदस्य जीपछिरिङ लामाले सो पुलको निर्माण कार्यमा ढिलाइ गर्न नहुने बताए । सांसद लामाले निर्माण कम्पनीले दिनरात काम गरेर भए पनि सो पुलको निर्माण कार्य गुणस्तरीय तरिकाले सम्पन्न गर्नुपर्ने पनि स्पष्ट पारे ।
“पप्पु कन्स्ट्रक्सन कम्पनी विवादित निर्माण कम्पनी हो । यसले अन्य आयोजनाहरुको काम पनि सुरु गर्ने अनि अलपत्र छाड्ने काम गरिरहेको छ । निर्माणमा देखिएको लापरबाही हेरेर सरकारले कारबाही गर्नुपर्छ,” सांसद लामाले भने ।
बैठकमा उपस्थित समितिका अन्य सांसदहरुले सरकारले समितिको प्रतिवेदन हेरेर लापरबाही रुपमा पुलको काम गरेको पप्पुलाई तत्काल कारबाहीको माग राखेका छन् ।