१ चैत्र २०८२, आईतवार
भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मङ्गलबार अपराह्न दुर्घटना भएको जिप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकिएको छैन । सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जिप दुर्घटना भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ज ७१६६ नंको जिपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगे पनि पानीको बहाव बढी भएका कारण पत्ता लगाउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनापछि अपराह्न १ बजेदेखि बुधबार साँझसम्म खोजीकार्य जारी रहे पनि जिप दुर्घटनामा रहेका यात्रु भेट्टाउन नसकिएको हो । स्थानीयवासीले जिप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला भेट्टाएको स्थानीयवासीले बताएका छन् ।


दुर्घटनामा परेका उपाध्यक्ष शाहीको झोलामा रु ६४ हजार, नागरिकता, अन्य कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । जिप र सवारयात्रुको कुनै पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्ला, सामाजिक विकासमन्त्री दल रावल, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको पहलमा कुरिनटारबाट गोताखोर हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दुर्घटनास्थलमा पुगेको हो ।
कुनिटारबाट दुर्घटनास्थल पुगेका शसस्त्र प्रहरी बल निरीक्षक बस्नेतका अनुसार कर्णाली नदीमा पानीको बहाव बढेकाले खोजीकार्य भए पनि भेट्टाउन मुस्किल रहेको जानकारी दिए ।
मङ्गलबार दुर्घटना भएको जिपमा पहिचान नभएका एक अर्को व्यक्ति रहेको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।
शोकमा डुब्यो हुम्ला
यही असार ३ गते मङ्गलबार जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्ष सहित १० बेपत्ता हुँदा हुम्ला यतिबेला शोकमा डुबेको छ । कर्णाली नदीमा खसेको जिपमा सवार सबैको खोजीमा सिमकोट र खार्पुनाथ गाउँपालिकाका करीब एक हजार स्थानीयवासी संलग्न रहे पनि भेट्टाउन सकिएको छैन ।