१ चैत्र २०८२, आईतवार
बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आज पश्चिमी क्षेत्रसम्म फैलिएको छ । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म देशभर फैलिने जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार शनिबार मनसुन मध्य क्षेत्रका केही भेगमा बढी सक्रिय रह्यो । गए रातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन सुदूरपश्चिम पुगेको बताइएको छ । कँडेलका अनुसार सोमबारसम्ममा देशभर मनसुन सक्रिय हुनेछ । उक्त मनसुनको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेकाले बाढीपहिरो आउन सक्ने भनी सचेत रहन आग्रह गरिएको छ ।
राति देशका पश्चिमी भूभागहरुमा
सामान्यदेखि पूर्ण बदली रही
पूर्वी तथा मध्य
भेगमा आंशिकदेखि सामान्य
बदली रही पश्चिमका
केही स्थानमा हल्कादेखि
मध्यम वर्षाको सम्भावना
रहेको महाशाखाले जनाएको छ
।
सोमबार देशभर आंशिकदेखि सामान्य
बदली रही पूर्वका
केही स्थानका साथै
मध्य तथा पश्चिमका
एकदुई स्थानमा वर्षाको
सम्भावना रहेको बताइएको छ
।


मङ्गलबार देशको मध्य पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भूभागमा सामान्य बदली भई पूर्वका केही स्थानका साथै मध्य तथा पश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३९ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ । रासस