लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस सम्पन्न

होमल्याण्ड खबर

२०७६ असार ११ गते, बुधबार १४:४९ मा प्रकाशित

लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि साताव्यापी रुपमा मनाइएको छ ।

बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक वर्षको जुन २६ मा यो दिवस मनाइन्छ।

यस वर्ष नेपालमा ‘समृद्ध राष्ट्र निर्माणका लागि लागूऔषधरहित स्वस्थ जीवन’ भन्ने नाराका साथ यो दिवस मनाइएको छ ।

साताको अन्तिम दिन बुधबार गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखा मुल आयोजक समितिले राजधानीमा विशेष कार्यक्रम गरेको छ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लागुऔषधको प्रयोगले व्यक्तिको जीवन, परिवार र समग्र समाजलाई पर्ने असरका बारेमा नै जनचेतनामुलक नाटक प्रस्तुत गरियो।

महाशाखाले दिवसको सन्दर्भमा लागुऔषध दुरुपयोग सम्बन्धमा जनचेतनामुलक निबन्ध तथा नाटक प्रतियोगिता गरेको थियो।

भृकुटीमण्डपदेखि सुरु भएको चेतनामुलुक र्‍याली भद्रकाली, सहिदगेट, सुन्धारा, न्युरोड, शान्ति बाटीका हुँदै राष्ट्रिय सभागृह पुगेको थियो।

र्‍यालीमा लागुऔषधको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाका प्रतिनिधिलगायत सर्वसाधरणको पनि बाक्लो उपस्थिति थियो।