१० मंसिर २०८१, सोमबार
अब नेपालमै ६० किलोमिटर लामो ‘ग्रेटवाल’ बन्ने भएको छ। सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय केन्द्र हेलम्बुलाई लक्षित गरी ‘नेपाली ग्रेटवाल’ बन्न लागेको हो।सिन्धुपाल्चोकमा ‘ग्रेट ट्रेल’ निर्माणको सोचका साथ लामो पर्खालले घेर्न सुरु गरिएसंगै यस पर्खाललाई ‘नेपाली ग्रेटवाल’को संज्ञा दिइएको छ।
पर्खालको सुरुवाती एक सय मिटर निर्माण कार्य सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चीनको ग्रेटवाल हेर्न पुग्दा त्यहाँ पर्यटकको लहर देखेपछि ‘हेलम्बु ग्रेटवाल’को सोच आएको बताए।
६० किलोमिटर लामो हुने पदमार्गले समुन्द्री सतहबाट २५ सय उचाईमा पर्ने सेर्माथाङलाई पनि छुनेछ । हेलम्बु गाउँपालिका १ बुद्घपार्कबाट सुरु हुने पदमार्ग ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दुवाङगुफा, सेमीसिदाङ, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर सकिने छ।
पदमार्गमा स्थानीय स्लेट ढुंगा छापिने छ भने छापिएको ढुंगामा स्थानीय संस्कृति झल्काउने शिलालेख खोपिने र हरेक खण्डमा दशवटा खुड्किला हुनेछन्। पर्यटक बिसौनी र रातको समयमा सोलार बत्ति ट्रेलको आकर्षणको रुपमा रहने गाउँपालिकाको भनाइ छ।
ह्योल्मो जातिको लोपोन्मुख संस्कृति नेपालको हेलम्बुमा मात्रै देख्न पाइने र यहाँको गुम्बाहरु पर्यटकहरुको पहिलो आकर्षणको केन्द्र रहेकाले ट्रेलको उच्च महत्व रहेको अध्यक्ष शेर्पाले बताए।
सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय केन्द्र हेलम्बुलाई ग्रेट ट्रेलको पर्खालले घेर्ने छ। गोसाइकुण्ड र लाङटाङ पर्यटकीय पदयात्राको सिन्धुपाल्चोक प्रवेशद्वार पनि ग्रेट ट्रेलमा पर्नेछ। रसुवा, सिन्धुपाल्चोक र दोलखा जिल्लाका हिमश्रृङ्खला ग्रेट ट्रेलबाट हेर्न सकिने छ ।