जापानी राजदूतले गरे कृषि विश्वविद्यालयको निरीक्षण

होमल्याण्ड खबर

२०७६ असार १२ गते, बिहीबार १६:२५ मा प्रकाशित

नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयको अनुगमन निरीक्षण गरेका छन् ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयकी डिन प्रा.डा. शारदा थपलियाको संयोजनमा रामपुर आएका राजदुत मासामिचिले विश्वविद्यालयका प्रयोगशाला, पशु फार्म, वीउ उत्पादन कार्यक्रमको निरीक्षण गरे ।

अनुगमन निरीक्षणपछि विश्वविद्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. इश्वरीप्रसाद ढकाल, रजिष्ट्रार प्रा.डा. मनराज कोलाक्षपति, योजना निर्देशक प्रा.डा. अर्जुन श्रेष्ठ, डिन प्रा.डा. शारदा थपलियाले विश्वविद्यालयमा भैरहेका शैक्षिक, अनुसन्धान तथा प्रसारप्रसारका बारेमा जानकारी गराएका थिए ।

भैंसीमा बेमौसमी समयमा गराइएको गर्भधारणको सफल परीक्षणका बारेमा प्रा.डा. भूमिनन्दन देवकोटाले राजदूत साइगोलाई जानकारी गराएका थिए ।

राजदुत साइगोले दुई देशका विश्वविद्यालयबीच अझै प्रगाढ सम्वन्ध बिस्तार गदैं विज्ञान र प्रविधिको आदानप्रादन गरीने बताए ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर र जापानका चारबाट विश्वविद्यालयबीच एमओयू गरिएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयले जापानको यामागुची विश्वविद्यालय, टोकियो युनिर्भसिटी एग्री एण्ड टेक्नोलोजी, टोकियो एग्रीकल्चर युनिर्भसिटी र गिफु युनिर्भसिटीसँग सम्झौता गरी विद्यार्थी शिक्षक आदानप्रदान गदैं आएको छ ।