२ चैत्र २०८२, सोमबार
स्वदेशमै रोजगारी सृजना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा लगाउने उद्देश्यले ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६’ शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आइतवारदेखि राजधानीमा शुरु भएको उक्त सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।
आन्तरिक श्रममा युवाको आकर्षण बढाउने, श्रम सम्बन्ध सुदृढ बनाउने, श्रम र रोजगारीका नवीनतम् र सृजनात्मक पाटा उजागार गरी यस क्षेत्रको विकासबाटै गतिशील अर्थतन्त्र निर्माण गर्दै मुलुकको समृद्धिमा योगदान पु¥याउने उद्देश्यले सो सम्मेलन आयोजना गरिएको मन्त्रालयले बताएको छ ।


दुई दिनसम्म चल्ने सम्मेलनमा श्रम तथा रोजगारका क्षेत्रमा सरकारले चाल्नुपर्ने कदम, निर्माण गर्नुपर्ने ऐन, कानून, नीतिलगायत विषयमा छलफल हुनेछ । श्रम, रोजगार क्षेत्रका चुनौति, रोजगारी तथा सीपको सम्भाव्य क्षेत्र पहिचान गर्ने विषयमा पनि छलफल हुने श्रम मन्त्रालयले बताएको छ ।
सम्मेलनको पहिलो दिन आइतवार श्रम तथा रोजगारसम्बन्धी नीति पुनरावलोकनका पक्ष, श्रम आप्रवासन तथा विदेशबाट फर्किएका युवाको पुनः एकीकरण र कामको भविश्यका सम्बन्धमा यस क्षेत्रका जानकारले प्रस्तुत गर्ने कार्यपत्रमा सम्बन्धित विज्ञले टिप्पणी गर्ने भएका छन् ।
सोमवार नेपाली श्रम बजार र आय स्थितिको सिंहावलोकन, कार्य संस्कृति र श्रम मर्यादा, नेपालमा युवा उद्यमशीलता, रोजगारी र सूचना प्रविधि, श्रम उत्पादनशीलता, राष्ट्रिय अर्थतन्त्र र रोजगारीका लागि सीप विकास विषयमा सामूहिक छलफल हुनेछ ।
सम्मेलनबाट प्राप्त सुझावका आधारमा श्रम तथा रोजगार क्षेत्रमा थप रणनीतिक कार्यक्रम सञ्चालन गर्न सघाउ पुग्ने सरकारको विश्वास छ । सो सम्मेलनले आन्तरिक रोजगारी सृजनाका उपाय पहिचान गरी नीतिगत सुधार तथा कार्यान्वयनको पक्ष सुदृढीकरणका लागि साझा धारणा तयार गर्ने भएको छ ।
सम्मेलनमा सरकारी निकाय, निजी क्षेत्र, विभिन्न ट्रेड युनियन, श्रम तथा रोजगार क्षेत्रका विज्ञ, विकासका साझेदार र गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता छ ।