कृष्णभीरमा तीन सवारी आपसमा ठोक्किएः २ जनाको मृत्यु, ३० घाइते

होमल्याण्ड खबर

२०७६ असार १५ गते, आईतवार १३:५५ मा प्रकाशित

धादिङको कृष्णभीरमा आइतबार तीन सवारी आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौंतर्फ आइरहेको बा२ख ४५६७ र बा५ख १०४ नम्बरको माइक्रोबस काठमाडौंबाट चितवन गइरहेको लु१ख ९०७९ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।

मृत्यु हुनेमा धादिङ महादेवस्थान–८ का २७ वर्षीय श्यामकुमार श्रष्ठ र पहिचान खुल्न नसकेकी एक महिला रहेका छन् । घाइते मध्ये १८ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको र ७ जनाको चरौदी अस्पताल र अन्यको रिफर भइसकेको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

एकैतर्फबाट आएको माइक्रोबसले ओभरटेक गर्न खोज्दा बस, माइक्रोबस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किएको उनको भनाई थियो ।