सशस्त्र प्रहरीका चार पूर्वआईजीपीले पाए सफाइ

होमल्याण्ड खबर

२०७६ असार १६ गते, सोमबार १६:०५ मा प्रकाशित

सशस्त्र प्ररीका चार जना पूर्व महानिरीक्षक (आईजीपी) ले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व आईजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव वली र सनतकुमार बस्नेतसहित २२ जनाविरुद्ध दायर मुद्दाको फैसला गर्दै सफाइ दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार (रकम हिनामिना) मुद्दामा २०७२ सालमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो । सोमबार न्यायाधीशहरु बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको इजलासले उनीहरुलाई आरोप प्रमाणित नभएको भन्दै  सफाइ दिने फैसला गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।

संगठनको सामान खरिद र ढुवानीमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन्तविरुद्ध भ्रष्टाचारको अभियोगमा अनुसन्धान थालेको थियो । सो क्रममा वन्तले बयान दिँदा बस्नेत, ओली र श्रेष्ठसमेत अनियमितता प्रकरणमा छानविनमा तानिएका थिए । चारै पूर्व आईजीपीले यसअघि धरौटी बुझाएका थिए ।