९ मंसिर २०८१, आईतवार
सरकारले सन् २०१७ सम्ममा ८७ प्रतिशतले आधारभुत खानेपानी पाएको दावी गरेता पनि काठमाडौ उपत्यका लगायत शहरी क्षेत्रका बासिन्दाले पानीको आधारभूत सेवा पाउन सकेका छैनन् ।
आधारभूत खानेपानीका लागि एक जना व्यक्तिले एक दिनमा करीव ४५ लिटर पानी पाउनुपर्छ, १०० मीटरको दूरी भित्र धारा रहेको हुनुपर्छ, मूलको सुरक्षित पानी घरसम्म पुर्याइएको र कम्तिमा दिनको ४ घण्टा धारामा पानी आउने प्रणाली भएको खानेपानी सेवालाई भनिएको छ । आधारभूत खानेपानीका लागि दैनिक ४ घण्टा भनिए पनि उपत्यकाका अधिकांश घरको धारामा महिनामा एक दिन पनि पानी आएको छैन ।
नेपालको संबिधानले खानेपानी तथा सरसफाइलाई मौलिकहकको रुपमा प्रत्याभूत गरेको छ । दिगो विकास लक्ष्यको लक्ष्य नम्बर ६ पुरा गर्न समेत अब आधारभूत स्तरको सेवामा स्तर बृद्धि गर्नु जरुरी रहेको सरोकारवालाले जनाएका छन् । काठमाण्डौ उपत्यका लगायतका शहरी क्षेत्रमा उच्च तथा मध्यम स्तरको सेवा पुगेको सरकारको दाबी छ । तर आधारभुत सेवा समेत छैन । खानेपानी क्षेत्रका बिज्ञहरुका अनुसार शहरी क्षेत्रका बासीन्दा अझ आधारभुत खानेपानी सेवाबाट बन्चित भएका छन् ।
काठमाडौँ उपत्यकामा दैनिक ३२ करोड लिटर पानीको माग भएतापनि सुख्खायाममा ९ करोड लिटर र वर्षायाममा १६ करोड लिटर पानी मात्र आपूर्ति हुने गरेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । सरकारले २०३० सम्ममा सबैमा गुणस्तरयुक्त खानेपानीको पहुँच पुर्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ ।