१४ जेष्ठ २०८३, बिहीबार
कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विषादी परीक्षण तत्काललाई रोकिएको भए पनि अहिलेपनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भैरहेको बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरुको क्षमतामा प्रश्न रहेको सुनाउँदै ती ल्याबलाई छिट्टै स्तरोन्नती गर्नेपनि बताए ।


क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले अहिलेपनि जोखिमयुक्त तरकारी तथा फलफूल नगन्य मात्रामा रहेको सुनाए । उनले भने, ‘हामीले २०७१ साल असारदेखि विषादी परीक्षणको सुरु गरेका हौं, त्यतिवेला १८७ स्याम्पलमा चेकजाँच गरिएको थियो, तर केहीमा जोखिमपूर्ण मात्रा थियो ।
काठमाडौं उपत्यकाबाहिर अहिलेपनि ६–७ वटा ल्याबहरु रहेका मन्त्री खनालले सुनाए । उनले भने,‘तर, ती सबै ल्याबहरु अहिले सञ्चालनमा छन् भनेर म भन्दिन् । भएका ल्याबहरु सञ्चालन गर्न म्यानपावरको समस्या छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार पनि नाकामा चेकजाँच हुँदैन । र अहिले हामीसँग भएका ल्यावहरुलाई हामी छिट्टै अन्तर्राष्ट्रियस्तरको बनाउँछौं ।’
अहिलेपनि अर्गानो फोस्फेट र कार्वोनोमेट दुई वटा विषादी परीक्षण हुने गरेको मन्त्री खनालले सुनाए । परीक्षण हुन नसक्नेलाई काठमाडौंमा ल्याउन सकिने उनको भनाइ छ ।
उनले हरेक कुरामा विषादीमात्रै छ भनेर देख्ने तरिका पनि वैज्ञानिक नभएको गुनासो पोखे । ०७१ साल यताको रेकर्ड हेर्दा ग्रिन–जोनभन्दा तल धेरै कम मात्रामा रहेको उनले डाटा सुनाए ।
भारतबाट मात्रै नभएर भुटानबाट आयात हुने आलुलगायतका वस्तु र चीनबाट आयत हुने स्याउ परीक्षण हुने गरेको मन्त्री खनालले जनाए ।
सर्वोच्च अदालतले हिजोमात्रै विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरुले पालना गर्नेपनि उनले विश्वास दिलाए । उनले भने,‘अहिले हामीसँग भएका सबै ल्याव र साधन र स्रोत परिचालन गरेर हामी परीक्षणको काम गर्छौं ।’
विषादी परीक्षणलगायत अन्य पूर्वाधार निर्माणको लागि चाहिने बजेटको लागि आफूले अर्थ मन्त्रालयसँग छलफल गरेर पत्र पठाईसकेको पनि उनले जनाए । उनले भने,‘खरिद प्रक्रिया पूरा गर्न अझै कम्तिमा पनि ६ महिना र बढिमा दश महिना लाग्छ ।’
मन्त्री खनालले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा ६ महिना लाग्ने स्पष्ट पारे ।
केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समुहको परीक्षण गर्ने भएपनि बाकीमा २ वटा प्यारामिटर मात्रै चेक हुँदै आएको उनले स्पष्ट पारे ।
चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि आफुले खाद्य, पशु र प्लान क्वारेन्टाईन अन्र्तगतका १४ वटा क्वारेन्टाईन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको स्पष्ट पारे ।
फरक प्रसँगमा उनले उखु किसानहरुले अहिलेसम्म ठूलो मात्रामा भुक्तानी नपाएको गुनासो आफूकहाँ आएको सुनाउँदै यस विषयमा वाणिज्य मन्त्रीसँग बसेर छलफल गर्ने र समस्याको समाधान गर्ने सुनाए । उनले भने,‘मिल मालिकहरु अहिले धेरै ठूलो मारमा छन् । अब राम्रो रणनीतिका साथ काम गर्नुपर्छ ।’
उनले आफ्नो कुनैपनि मन्त्रालयसँग समस्या नरहेको स्पष्ट पारे । उनले भने,‘हामीमा कुनै समस्या छैन । हामी अदालतको निर्णय मान्छौं ।’ अहिलेपनि चेकजाँचको काम नरोकिएको उनले स्पष्ट पारे । अहिले २१ वटा विषादीमा प्रतिबन्ध गरिएको उनले सुनाए । विषादी ऐन अन्तिम अवस्थामा रहेको सुनाउँदै छिट्टै कार्यान्वयनमा आउने उनको विश्वास छ ।