१० मंसिर २०८१, सोमबार
तारबार भत्काएपछि स्थगित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य सुरु हुने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले विज्ञप्ति जारी गर्दै रंगशाला निर्माण कार्यलाई सुचारु गर्ने जानकारी दिएको छ ।
चितवनको भरतपुरमा रंगशालाको तारबार जेठ १५ गते स्थानीय केही व्यक्तिले डोजर लगाएर भत्काइदिएपछि निर्माण कार्य रोकिएको थियो । रोकिएको निर्माण सुरु गर्ने र निर्माणमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न फाउण्डेसनले अपिल गरेको छ ।
फाउण्डेशनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रंगशाला निर्माण स्थलमा डोजर चलाउने अराजक काम भएपछि हाम्रा कर्मचारीको सुरक्षालाई ध्यानमा राखेर निर्माण कार्य तत्काल स्थगित गर्ने निर्णय गरेका थियौं । अहिले परियोजना सुचारु गर्न जिल्लाको तर्फबाट गठित पाँच सय एक मूल सहयोग समितिले समेत गरेको आग्रह र जिल्लामा पनि सहज वातावरण बनेकाले पुनः निर्माण कार्य सुचारु गर्ने निर्णय गरेका छौं ।’ फाउण्डेशनले रंगशाला निर्माणमा अवरोध गर्ने जस्ता गतिविधि नदोहोरियोस् भन्ने उद्देश्यले सबैलाई सजग भइदिनसमेत अनुरोध गरेको छ ।