२ चैत्र २०८२, सोमबार
आज हरिशयनी अर्थात ठूली एकादशी, घरघरमा तुलसी सारेर मनाइँदै छ ।
एक महीनाअघि जेष्ठ शुक्ल एकादशी (निर्जला एकादशी)का दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।


सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो ।
वैष्णव धर्मअनुसार आजैका दिनदेखि चतुर्मास आरम्भ हुन्छ । पौराणिक ग्रन्थहरूका अनुसार यो दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्छन् ।
यो अवधि चार महिनाको हुने भएकोले चतुर्मास भनिएको हो ।
धार्मिक एवं ज्योतिषीय मान्यताका आधारमा चतुर्मासभर विवाह, व्रतबन्ध, प्रतिष्ठा, जस्ता मांगलिक कार्य गर्नु हुँदैन ।
आँगनको मठमा रोपिएको तुलसीलाई भगवान् विष्णु वा उनको प्रियाको रुपमा पूजा गर्ने परम्परा छ।
चतुर्मासभर पूजा गरिने तुलसी बोटविरुवामध्ये अत्यधिक अक्सिजन फ्याँक्ने वनस्पति हो भने यसबाट विविध प्रकारका औषधि उपचार पनि गर्न सकिन्छ ।
चतुर्मासको समाप्ति कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीमा हुन्छ ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।