बाढीपहिरो अपडेटः ५० जनाको मृत्यु, ११ सयको उद्धार

होमल्याण्ड खबर

२०७६ असार २९ गते, आईतवार १४:११ मा प्रकाशित

अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्ममा ५० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी काठमाडौंमा ३ जना, ललितपुरमा र भोजपुरमा ५–५ जना, ओखलढुंगामा ४ जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा ३–३ जना, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा २–२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जना गरी ५० जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमध्ये २२ जना महिला र २८ जना पुरुष रहेका छन् । बाढी पहिरोमा परेका काठमाडौंमा १ सय ८५ जना, ललितपुरमा ८ जना, उदयपुरमा १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना तथा  भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १–१ जना गरी  ११ सय भन्दा बढीको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 
बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा ६ जना, ईलाम र मोरङमा ३–३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा १–१ जना गरी ३५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको  छ ।

साथै मकवानपुरमा ४ जना, ललितपुर र धनकुटामा ३–३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २–२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन १–१ जना गरी २५ जना घाइते भएका छन् । घाइतेमध्ये १० महिला र १५ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगायतका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेको बताइएको छ ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।