नेपालको सामाजिक सुरक्षाको स्रोत हो गुठीः अर्थमन्त्री डा.खतिवडा

होमल्याण्ड खबर

२०७६ श्रावण ६ गते, सोमबार १२:४७ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले गुठीहरुलाई नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोतको रुपमा चित्रण गरेका छन् । अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई महत्व दिएर नेपाली समाजले विपद् व्यवस्थापनमा पनि उल्लेख्य योगदान दिन सफल हुँदै आएको पनि स्पष्ट पारे ।

सोमबार काठमाडौंमा आयोजना गरिएको ‘नेपालमा सार्वभौमिक सामाजिक सुरक्षाको बाटो’ विषयक सम्मेलनमा बोल्दै उनले नेपाली समाजमा ठूलाले सानालाई माया गर्ने र वृद्धवृद्धाहरुलाई सम्मान गर्ने परम्पराले पनि सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदान पुगेको पनि स्मरण गराए ।
अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई संविधानले मौलिक हकको रुपमा स्थापित गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको पनि बताए । गरिव, पछाडि परेका समुदाय र वृद्ध, अशक्त, एकल महिलाहरुलाई सरकारले सामाजिक सुरक्षा अन्तरगत भत्ताको समेत व्यवस्था गरेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।