स्थानीयवासीले गरे जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध

होमल्याण्ड खबर

२०७६ श्रावण ६ गते, सोमबार १६:०७ मा प्रकाशित

काठमाडौंको जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरिएको छ ।

जीर्ण सडकमा ग्राभेल भन्दै माटो हालेर झारा टार्न खोजीएको भन्दै स्थानीयवासीले उक्त सडक अवरुद्ध गरेका हुन् ।

सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको चार वर्ष बित्दा समेत काम शुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको उनीहरुको गुनासो छ ।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार एवं कालोपत्रका लागि पहिलो पटकको म्याद सकिएर थपेको समय पनि भदौमा सकिँन लागेको तर काम नभएको भन्दै उनीहरुले विरोध जनाइरहेका छन् ।

अहिलेसम्म सार्वजनिक जग्गा भएका स्थानमा विस्तार गर्न पर्खाल लगाए पनि अन्यत्र काम शुरु हुन सकेको छैन ।

सडकको विभिन्न स्थानमा बनेका खाडलमा ताल र पोखरी छन् ।