कक्षा १२ को नतिजा : किन आउदैन सर्वोत्कृष्ट जीपीए

होमल्याण्ड खबर

२०७६ श्रावण १४ गते, मंगलवार ११:४५ मा प्रकाशित

कक्षा १२ को वैशाखमा सञ्चालित परीक्षाको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । कक्षा १२ अन्तिम परीक्षामा सर्वोत्कृष्ट जीपीए ४.०० कसैको पनि आउन सकेन । ३ हजार ६७ जना विद्यार्थीले उच्च तह ३.६१ देखि माथिको जीपीए ल्याएका छन् ।

उच्च तहको अंक ल्याउने समूहअन्तर्गत ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या शून्य रहेको छ ।

गत वर्षमा जस्तै यसपालि मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या सबभन्दा बढी छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी थिए । गतवर्ष कक्षा ११ को परीक्षामा एक विद्यार्थीले मात्र उत्कृष्ट ४.०० जीपीए ल्याएका थिए ।

कक्षा १२ मा उच्च जीपीए (३.६१–४.००) ल्याउने विद्यार्थीको संख्या भने अघिल्लो वर्षको तुलनामा बढेको छ । अघिल्लो वर्ष नियमिततर्फका २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थीले परीक्षा दिएकामा उक्त समूहको जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १ हजार १ सय ६९ जना मात्र थियो ।

यस पटक ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ छ । ३१ हजार ६२ विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना छ । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना छन् । यो मध्यमस्तरको जीपीए हो । १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १.२१ देखि १.६० प्राप्त गर्नेको संख्या १९ हजार ५ सय ८५ छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबभन्दा कमस्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना छन् । बोर्डले ९ वटा समूहमा ग्रेडअनुसार नतिजा सार्वजनिक गरेको हो ।

गत वर्ष पनि मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या नै अधिक थियो ।

ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ जना विद्यार्थीले परीक्षा लेखेका थिए । उनीहरूले केही विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिएकाले नतिजामा तथ्यांक समावेश गरिएको छैन । 

मनाङ जिल्लाबाट सबैभन्दा थोरै एक सय १० र काठमाडौंबाट सबैभन्दा बढी एक लाख ३४ हजार एक सय १५ जनाले परीक्षा दिएका थिए । परीक्षा सकिएको ७५ औं दिनमा बोर्डले सबै विषय र संकायको परीक्षाफल एकै दिन प्रकाशित गरेको हो ।