भरतपुर विमानस्थलमा ल्याइयो नयाँ सुरक्षा योजना

होमल्याण्ड खबर

२०७४ चैत्र १५ गते, बिहीबार ०५:४० मा प्रकाशित

यात्रुको अधिक चाप र कमजोर भौतिक पूर्वाधारका कारण असहज बन्दै गएको भरतपुर विमानस्थलमा आगामी बैशाख १ गतेबाट सुरक्षा व्यवस्था कडा बनाइने भएको छ ।
विमानस्थल सुरक्षा समितिले सुरक्षा सम्वन्धी कार्यविधि नै तयार गरिएको छ । हवाइ सुरक्षा सम्वन्धी अन्तर्राष्ट्रिय मापदण्ड, ऐन, नियमको पालना गराउने कार्यविधि तयार गरिएको भरतपुर नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
विमानस्थलको चार किल्लाभित्रका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेर आवश्यकताका आधारमा सुरक्षा जाँच गराई प्रवेश गराइने कार्यविधिमा उल्लेख गरिएको छ । विमान उडान, अवतरण हुने क्षेत्र र सो क्षेत्रसँग जोडिएका भागमा तारबार, पर्खाल, भवन, टहरा तथा पार्किङ, टर्मिनल भवन, कन्ट्रोल टावर, ह्याङ्गर क्षेत्र, पेरिफेरी रोडलाई निषेधित क्षेत्र घोषणा तोकिएको छ । विमानस्थल बाहिर जडान भएका वा निर्माण भएका हवाइ परिवहन सम्वन्धी आवश्यक यन्त्र, उपकरण, भवन, टहरा र टर्मिनल भवनको भीभीआईपी र सीआईपी कक्षलाई पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
निषेधित क्षेत्रमा यात्रुलाई आवश्यक कागजात र उडान कागजातका आधारमा कार्यालय प्रमुखले जारी गरेको निषेधित क्षेत्र प्रवेश पासको आधारमा मात्रै प्रवेश अनुमती दिने व्यवस्था गरिएको र विमानस्थलमा सवारी प्रवेश पार्किङ व्यवस्थापनमा कडाइ गरिएको भरतपुर नागरिक उड्यन प्राधिकरणले बताएको छ ।