मेडिकल कलेजहरुको शुल्क तत्काल घटाउन सरकारलाई निर्देशन

होमल्याण्ड खबर

२०७६ श्रावण २४ गते, शुक्रबार १६:१८ मा प्रकाशित

संसदीय समितिले मेडिकल कलेजहरुको शुल्क तत्काल घटाउन सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले मेडिकल कलेजहरुको शुल्कसम्बन्धी विवाद समाधान गर्न गठित उपसमितिले दिएको सुझावलाई आधार मानेर तत्काल शुल्क घटाउन सरकारलाई निर्देशन दिएको हो।

समितिकी सभापति जयपुरी घर्तीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मर्मअनुसार मेडिकल कलेजहरुको शुल्क घटाउन दिएको र मेडिकल कलेजहरुको पाठ्यक्रम र शैक्षिक क्यालेन्डरमा एकरुपता ल्याउन पनि सरकारलाई निर्देशन गराएको जानकारी दिइन् ।

बैठकमा उपसमितिले जेहेन्दार विद्यार्थीहरु पनि खर्चको अभावमा चिकित्सा शिक्षा अध्ययन गर्नबाट बञ्चित हुने गरेकाले उनीहरुलाई ऋण उपलब्ध गराएर भएपनि सरकारले अध्ययन गर्ने विशेष व्यवस्था गर्नुपर्ने प्रस्ताव पेश गरेका थियो ।

बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय चिकित्सा शिक्षा आयोग गठन गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएका थिए ।