२ चैत्र २०८२, सोमबार
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समग्र समाज र राष्ट्रकै हितमा समर्पित समुदाय—प्रहरी साझेदारी कार्यक्रमको संस्थागत विकास र कार्यान्वयनमा स्थानीय तहबाट उल्लेख्य भूमिका विर्वाह भएको बताएका छन् ।
काठमाडौं उपत्यकास्थित स्थानीय तहका प्रमुखहरुसँग सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महानिरीक्षक खनालले विगतका कामको समीक्षा र भावी कार्यदिशाको अझ बढी दायित्व वहन गर्दै अगाडि बढ्नका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।


महानिरीक्षक खनालले विभिन्न चरणमा व्यापक छलफल गरी विविध उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रमले छोटो समयमा वृहद उपलब्धी हासिल गरी संस्थागत रुपमा विकास भइसकेको धारणा व्यक्त गर्दै यस नवीन अवधारणालाई अन्य देशले समेत अवलम्बन गर्दा राम्रो हुने विचार व्यक्त गरे ।
खनालले ट्राफिक व्यवस्थापन, लागूऔषध र मदिरा नियन्त्रण, पुर्नस्थापना केन्द्र स्थापना, मानव बेचबिखन नियन्त्रण, फरार अपराधी पक्राउ लगायतका विषयमा विशेष अभियान संचालन अन्तर्गत त्रैमासिक योजना ल्याइएको बताए ।
उक्त अवसरमा उपस्थित नगरपालिका प्रमुखहरू, उपप्रमुखहरु, गाउँपालिका अध्यक्षहरुले समुदाय—प्रहरी कार्यक्रम निकै प्रभावकारी र फलदायी भएको चर्चा गर्दै निर्दिष्ट लक्ष्य र उद्देश्यका साथ शान्ति सुरक्षामा सहयोग पुर्याउन ल्याइएको यस कार्यक्रमलाई स्थानीय तहबाट गर्नुपर्ने भूमिका पूर्णरुपमा निर्वाह गरी सहयोग पुर्याउने प्रतिवद्वता व्यक्त गरे ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव महानिरीक्षकहरु, उपत्यकास्थित विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू एवं गाउँपालिकाका अध्यक्षहरु, तार्केश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, टोखा नगरपालिकाका कानुनी सल्लाहकार, बरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।