फिफा विश्वकप फुटबल : छनोट खेल्न नेपाली टिमलाई बिदाई

होमल्याण्ड खबर

२०७६ भाद्र १३ गते, शुक्रबार १२:०८ मा प्रकाशित

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चिनियाँ ताइपेविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सादोबाटोमा आयोजित एक कार्यक्रमबीच शुक्रबार खेलाडीलाई बिदाइ गरेको हो ।

बिदाइका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायत सातदोबाटो पुगेका थिए ।

बिदाइ कार्यक्रममा सदस्यसचिव सिलवालले खेलाडीलाई राष्ट्रका लागि जितेर आउन शुभकामना दिए । त्यस्तै, एन्फा अध्यक्ष शेर्पाले नेपालले कुवेतलाई पराजित गरे उचित पुरस्कार राशि खेलाडीलाई दिइने बताएका छन् । उनले भने, ‘हामी ऐतिहासिक दिनमा छौं । तपाईंहरूले राम्रो नतिजा ल्याउनु हुन्छ भन्नेमा विश्वस्त छु । सबैले राम्रो खेलेर आउनु होला । कुवेतलाई जितेमा हामी पुरस्कारको घोषणा गर्नेछौं ।’

छनोट हुने नेपाली खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । त्यस्तै मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । विश्वकप छनोटमा नेपाल समूह बीमा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चिनियाँ ताइपे छन् ।

विश्वकप फुटबलको दोस्रो चरणमा नेपाल रहेको समूह ‘बी’ मा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपे र कुवेत छन् । नेपालले कुवेतसँग उसकै भूमिमा भदौ १९ गते प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, २४ गते नेपालले चाइनिज ताइपेसँग उसैको भूमिमा खेल्दैछ ।