९ मंसिर २०८१, आईतवार
नेपाल र चिन दुवै देशका परराष्ट्रमन्त्री नेतृत्वको टोलीबीच अपराह्न होटल याक एण्ड यतीमा यसअघि भएका सम्झौता र थाति सबै एजेण्डाहरूमाथि छलफल हुने जानकारी छ ।
नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुअघि नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको उच्चस्तरीय टोलीसँग द्विपक्षीय एजेण्डाका विषयमा छलफल गर्दैछन् ।
राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका चिनियाँ विदेशमन्त्रीको चासो स्वभाविक रुपमा बीआरआईमा नेपालले गरेको प्रतिबद्धता अनुरूपको कार्य प्रगतिमै केन्द्रित छ । नेपालको तर्फबाट जति प्रगति हुनुपर्ने हो त्यो हुन नसकेकोमा चीनले चासो राखेको छ ।
यता, नेपालको चासो भने काठमाडौं–केरुङ रेलमार्गमा छ । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चीनको सहयोग खोजिरहेको नेपालले सम्भवतः त्यसपछिको रेलमार्ग निर्माणको मोडालिटीमा पनि चीनको साथ खोजेको छ ।
चीनको सहयोगमा काठमाडौं–केरुङ रेलगर्माको पूर्व सम्भाव्यता (प्रि–फिजिबिलिटी) अध्ययन भइसकेको छ । चिनियाँ राष्ट्रपति स्वयंले यसअघि राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला रेलमार्गबारे सकारात्मक धारणा व्यक्त गरिसकेकाले यो वार्ताका क्रममा ती कुरामाथि समीक्षा हुने परराष्ट्र स्रोतले जनाएको छ । वार्तापछि केही समझदारीमा हस्ताक्षर समेत हुनेछ ।