नेपाल चीन संयन्त्र बैठक याक एण्ड यतिमा सुरु

होमल्याण्ड खबर

२०७६ भाद्र २३ गते, सोमबार १६:३६ मा प्रकाशित

विदेशमन्त्रीस्तरीय नेपाल चीन संयन्त्र बैठक काठमाडौंको याक एण्ड यति होटलमा सुरु भएको छ । करिब एक घण्टा चल्ने बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षी प्रदीप ज्ञवालीले शिक्षा र अर्थ विषयक समझदारी पत्रमा हस्ताक्षर गर्ने बताइएको छ।
विदेशमन्त्रीस्तरीय बैठकको लागि नै चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आइपुगेका हुन्।

सोमबार दिउसो संयन्त्र बैठक सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ विदेशमन्त्री यीले भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । साथै उनले नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुलाई समेत भेट्ने कार्यक्रम बनाएको चिनिया दुतावास स्रोतले बताएको छ ।

आजको बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित अर्थमन्त्री डा। युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लिलामणी पोखरेल, परराष्ट्र सचिव शंखर वैरागी, मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव काली पोखरेललगायत उपस्थित रहेका छन्।