प्रतिनिधिसभाको शून्य समयमा डेङ्गुदेखि बाघ आतङ्कसम्मको विषय प्रवेश

होमल्याण्ड खबर

२०७६ भाद्र २५ गते, बुधबार १५:३२ मा प्रकाशित

इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेङ्गु रोग, शिक्षा क्षेत्रमा देखिएको व्यथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद विनाकुमारी श्रेष्ठले काठमाडौं उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले पाँच करोडको अक्षयकोष स्थापना गरेको जानकारी गराउँदै त्यसका लागि सरकारलाई  बधाई ज्ञापन गर्नुभयो ।

सांसद सुजिता शाक्यले पशुपतिको भेटी चुहावट भएर विदेश पुगेको कुरा सुनिन आएको हुँदा भेटीको पारदर्शिता कायम गर्न र हुन सक्ने चुहावट रोक्न निगरानी गर्न पशुपतिमा स्क्यानिङ मेशिनको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद विनादेवी बुढाथोकीले निकै छिटो गतिमा डेङ्गु रोग फैलिएकामा जनता निकै आत्तिएका हुँदा यसको प्रभावकारी  नियन्त्रणका लागि सरकारबाट ठोस कदम चालियोस् भन्नुभयो ।

सांसद सुजाता परियारले मुलुकमा अहिले धेरै ठाउँमा डेङ्गु फैलिएको हुँदा सहजरुपमा परीक्षण र उपचार सबै ठाँउमा गर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिनुभयो ।

सांसद लालकाजी गुरुङले सङ्घीय संसद्का सबै सांसदको भूमिका र जिम्मेवारी एकै भए पनि प्रत्यक्ष निर्वाचित सांसदलाई सरकारले रु छ करोड उपलब्ध गराए पनि समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका सांसदलाई निम्छरा सम्झेर होला छ पैसा पनि रकम नछुट्याइएको भनी गुनासो गर्नुभयो ।

सांसद विमला विश्वकर्माले रसुवाको केरुङ नाकामा केही दिनअघि प्रहरीको कुटाइबाट चालक आशिष तामाङ गम्भीर घाइते भएको हुनाले त्यस्तो ज्यादती गर्ने सुरक्षाकर्मीमाथि हदैसम्मको कारवाही गर्न माग गर्नुभयो ।

सांसद शान्तिमाया तामाङले अत्यावश्यक दैनिक खाद्य पदार्थमा दशैँ र तिहारका बेला हुने मूल्यवृद्धि रोक्न सुपथ मूल्यका पसल देशभर नै सञ्चालन गरेको र पेट्रोलको मूल्य घटाउने काम भएकामा सरकारको प्रशंसा गर्दै अब यातायातलाई सहज तुल्याउने र समयमा पूर्वाधारको काम सम्पन्न गर्नेतर्फ सबैको ध्यान जानुपर्छ भन्नुभयो ।

सांसद सत्यनारायण शर्मा खनालले मुलुकको सरकारी विद्यालयबाट प्रदान गरिने शिक्षाको अवस्था भद्रगोल रहेको हुँदा शिक्षकलाई तालीम दिएर सुधार्नेतर्फ सरकारले गम्भीरतापूर्वक सोच्न आवश्यक छ भन्नुभयो ।